सुनसरी घटनाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न आह्वान

काठमाडौं, १४ साउन ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्लो समय देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भण्डारीले घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान संवेदनशील अवस्थामा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको हो ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले विभिन्न समुदायबीचको आपसी सद्भाव र सहअस्तित्व नै राष्ट्रिय शक्तिको आधार भएको उहाँले बताउनुभएको छ । पुर्खाले जोगाउँदै आएको सामाजिक सद्भाव कुनै पनि परिस्थितिमा कमजोर हुन नदिनुपर्ने उहाँको भनाइ छ ।

भण्डारीले अफवाह, घृणास्पद अभिव्यक्ति तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गर्नुभएको छ । कुनै एक घटनालाई आधार बनाएर समग्र समुदायप्रति अविश्वास र द्वेष फैलाउनु राष्ट्रिय हितविपरीत हुने उहाँले उल्लेख गर्नुभएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक तथा सांस्कृतिक स्वतन्त्रताको सम्मान गर्दै कानुनी शासन र संवादमार्फत समस्याको समाधान खोज्नुपर्ने भण्डारीको धारणा छ ।

उहाँले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ ।

सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल र कोशी प्रदेश सरकारले चालेका कदमको स्वागत गर्दै भण्डारीले त्यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्व कायम गर्न जिम्मेवार तथा रचनात्मक भूमिका निर्वाह गर्नसमेत आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  २० : १४  बजे