जेलबाट भागेका ४ हजार ७९५ कैदीबन्दीको पासपोर्ट कालोसूचीमा

काठमाडौँ । जेनजी प्रदर्शनमा कारागारबाट भागेका कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखिएको छ । भदौ २४ मा देशभरका कारागारबाट फरार भएका ४ हजार ७९५ जना कैदीबन्दीको राहदानी कालोसूचीमा राखिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

४ हजार २ सय २६ जना नेपाली र  ५ सय २९ जना भारतीय कसुरदारहरूको पासपोर्ट कालोसूचीमा राखिएको हो । जेनजी प्रदर्शनमा १४ हजार ५४९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ९ हजार ४५३ जना कारागारमा फर्किएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए ।

उनले भने, ‘कतिपय आफैँ आउनुभयो, कतिपयलाई प्रहरीले नियन्त्रणमा लिएर कारागारमा फर्काएको अवस्था छ ।’ न्यौपानेका अनुसार बालसुधार गृहका बालबिज्याईंकर्ता सहित ५ हजार १ सय ७४ जना कारागार बाहिर छन् ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शुक्रबार  १५ : ४७  बजे