जेनजीकाे सदस्य बताउँदै चालक कुट्ने युवक पक्राउ

हेटौँडा । जेनजीको सदस्य बताउँदै सवारी चालकलाई कुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिकामा आफूलाई ‘जेनजी’ आन्दोलनको सदस्य बताउँदै सवारी साधन रोकेर चालकमाथि कुटपिटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–१ का २२ वर्षीय अमिर रुम्बा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनका अनुसार असोज २२ गते राति १० बजेको समयमा रुम्बाले केही व्यक्तिहरूसँग मिलेर भीमफेदी–१ स्थित सानुटार याङराङपुलमा सडक अवरुद्ध गरेर जेनजीको सदस्य हुँ भन्दै चालकमाथि कुटपिट गरेका थिए ।

सो समूहले विशेष गरी तरकारी तथा कृषिजन्य उत्पादन बोकेका ढुवानीका साधनहरूलाई गैरकानुनी रूपमा रोकेर चालकहरूसँग सोधपुछ र जाँच गर्ने, कुटपिट गर्ने तथा अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गरेको प्रवक्ता बोगटीले बताए ।

पीडित चालकहरूको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले रुम्बालाई बुधबार राति नै नियन्त्रणमा लिएको हो । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र पक्राउ परेका रुम्बामाथि थप अनुसन्धान तथा आवश्यक कारबाही अगाडि बढाइएको प्रवक्ता बोगटीले बताए ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  १७ : १३  बजे