काठमाडौं, २२ साउन। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन वैधानिक र विधानसम्मत रहेको भन्दै त्यसको प्रतिरक्षाका लागि अदालतमा प्रस्तुत हुने बताउनुभएको छ।
शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्ने अर्को अवसर प्राप्त भएको बताउनुभयो।
सभापति थापाले सर्वोच्च अदालतको आदेशबारे साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरी पार्टीको आधिकारिक धारणा तय गरिने जानकारी दिनुभयो।
उहाँले विधानभन्दा माथि कोही पनि नरहने उल्लेख गर्दै नेपाली कांग्रेसको आगामी महाधिवेशन तोकिएकै समयभित्र, अर्थात् मंसिरसम्म सम्पन्न गर्नु पार्टीको वैधानिक दायित्व भएको स्पष्ट पार्नुभयो।
थापाले कार्यकर्ता र शुभेच्छुकले गरेको विश्वास कायम राख्दै सबै पक्षलाई समेटेर पार्टीलाई बलियो बनाउने प्रयासमा आफू प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षका रूपमा सरकारलाई निरन्तर खबरदारी गर्ने र संविधानको संवेदनशीलता जोगाउने जिम्मेवारी कांग्रेसको रहेको धारणा राख्नुभयो।
संविधान संशोधनका विषयमा पर्याप्त संवेदनशीलता नअपनाइए देश ठूलो द्वन्द्वतर्फ जान सक्ने चेतावनी दिँदै उहाँले यस विषयमा कांग्रेसले सरकारमाथि निरन्तर दबाब र खबरदारी गर्ने बताउनुभयो।







प्रतिक्रिया