नुवाकोटको छहरे बजारमा पसल तोडफोड गरी १ लाख ४० हजारको चोरी

नुवाकोट, ७ कात्तिक । नुवाकोटको पूर्वी भेगस्थित लिखु गाउँपालिका–६, छहरे बजारमा पसल तोडफोड गरी चोरी भएको छ ।

बिहीबार राति स्थानीय ज्ञानबहादुर डंगोलको पसलको झ्यालको ग्रिल फुटाएर चोरहरूले चुरोट, नगद तथा अन्य जिन्सी सामान लगेका छन् । प्रहरीका अनुसार चोरीबाट नगद र सामान गरी करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

चाडपर्वको समयमा बजार क्षेत्रमै पसल तोडफोड गरी चोरी भएपछि स्थानीय व्यवसायीहरूमा चिन्ता बढेको छ ।

स्थानीयवासी विक्रम आचार्यले बजार क्षेत्रको सुरक्षा व्यवस्था थप कडा र प्रभावकारी बनाउनुपर्ने माग गर्नुभएको छ । चाडपर्वका बेला चोरीका घटना बढ्न सक्ने भएकाले सर्वसाधारण र व्यवसायी स्वयं पनि सजग र सचेत रहनुपर्ने उहाँको भनाइ छ ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  ०८ : ३५  बजे