हेटौँडा,७ कात्तिक । हेटौँडा उपमहानगरपालिका–८, भावनामार्गस्थित घरमा एक पुरुष मृत फेला परेका छन् भने उनकी श्रीमती घाइते अवस्थामा भेटिएकी छन् ।
शुक्रबार स्थानीय ४५ वर्षीय शंकर कार्की घरको दोस्रो तलामा मृत फेला परेका हुन् । उनकी ४० वर्षीया श्रीमती चरिमाया कार्की भान्साकोठामा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार घटनाका बेला घरमा श्रीमान्–श्रीमती मात्र रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । चरिमायाको फोन नउठेपछि रामेछापमा रहेका माइती पक्षले हेटौँडा–९, लामसुरेमा बस्ने शंकरकी दिदी भवानी महतलाई खबर गरेका थिए । त्यसपछि भाइको घर पुगेकी महतले ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा भेटेपछि स्थानीयलाई जानकारी गराउनुभएको थियो ।
स्थानीयबाट सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट हरियालीबाट प्रहरी सहायक निरीक्षक जादोलालप्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय तथा शंकरका दिदी–भिनाजुको रोहवरमा घरको ढोका फोडेर प्रवेश गर्दा शंकर फलामको डन्डीमा सलको पासो लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको छ । उहाँ भान्साकोठामा घाइते अवस्थामा भेटिनुभएको थियो । भान्साकोठाको ढोका बाहिरबाट चुकुल लगाइएको अवस्थामा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
घाइते चरिमायालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । थप उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा रगत लागेको अवस्थामा ढुङ्गाको लोहोरो र इँटासमेत फेला परेको प्रहरीले जनाएको छ । ती सामग्री घटनासँग कसरी सम्बन्धित छन् भन्नेबारे अनुसन्धान भइरहेको छ ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले घटनास्थल र अस्पतालसँग सम्बन्धित विवरणका आधारमा अनुसन्धान अघि बढाएको सूचना अधिकारी काफ्लेले जानकारी दिनुभयो । घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया