म्याग्दी, ७ कात्तिक । बाढीपहिरो र नदी कटानले क्षतिग्रस्त म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले ठूलो क्षति पुर्याएको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्म सडकका करिब २२ स्थानमा क्षति पुगेको छ । बाढीपहिरो र नदी कटानले सडक भासिनुका साथै ग्याबियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाएको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिए ।
उनका अनुसार बेनीदेखि मङ्गला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेका छन् । नदी कटानका कारण दुई स्थानमा सडक भत्किएको छ । यस खण्डमा मात्रै तीनदेखि चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
मालिका गाउँपालिका–६ बलौटेमा म्याग्दी नदीले करिब एक सय मिटर कालोपत्र सडक बगाएको छ । पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेको छ । दरवाङदेखि मुना खण्डको धारापानीमा करिब १५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचनामा क्षति पुर्याएको छ ।
सडक क्षतिग्रस्त भएपछि बेनीदेखि मुनासम्मको सीधा यातायात प्रभावित भएको छ । बलौटेदेखि तोलाबाङसम्म ठूलो क्षति पुगेपछि मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुलबाट दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडक प्रयोग भइरहेको छ ।
साँघुरो, कच्ची र उचित ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार बलौटेमा नदी कटानले करिब एक सय मिटर सडक डिलदेखि कुनासम्म भत्किएकाले नियमित यातायात सञ्चालन गर्न तत्काल कठिन छ ।
क्षतिग्रस्त सडकमा पैदलयात्रा गर्नसमेत जोखिम रहेको उनले बताए । सडक पुनः सञ्चालनयोग्य बनाउन खोलाको किनारतर्फ पक्की पर्खाल निर्माण गरी सडक पुनर्निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
कार्यालय प्रमुख उलकका अनुसार बेनी–पानाबगर खण्ड पुनर्निर्माण गर्न चार करोड ६२ लाख ५६ हजार २० रुपैयाँ र पानाबगर–दरवाङ खण्डको बलौटे क्षेत्रमा पुनर्निर्माण गर्न दुई करोड २७ लाख ४३ हजार ५९९ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
बलौटे सडक पुनर्निर्माणका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । दसैँलगत्तै काम सुरु गरिने उलकले बताए ।
गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण गर्नुपर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताए । आवश्यक बजेटको व्यवस्था गरेर क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको उनले जानकारी दिए ।
अहिले पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट वैकल्पिक सडक हुँदै तोलाबाङ, दरवाङ र मुनासम्म एकतर्फी यातायात सञ्चालन गरिएको कार्यालयले जनाएको छ । फापरखेत पहिरोका कारण शनिबारदेखि पखेर–बरङ्जाङ–सातबिसे–बाबियाचौर वैकल्पिक सडकसमेत सञ्चालन गरिएको छ ।
बेनीदेखि दरवाङसम्म २४ किलोमिटर दूरी रहेको सडकको १६ किलोमिटर ४०० मिटर खण्ड कालोपत्र भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मुनासम्मको १८ किलोमिटरमध्ये धारापानी–झिनडाँडा खण्डको छ किलोमिटरबाहेक अन्य खण्ड निर्माणाधीन छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पसमेत मानिने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि महत्त्वपूर्ण मार्ग हो । धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुसमा खुलेको थियो ।












प्रतिक्रिया