भीरबाट लडेर वडाध्यक्षको मृत्यु

बझाङ, ७ कात्तिक । बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भीरबाट लडेर मृत्यु भएको छ ।

५० वर्षीय जोशीको शुक्रबार गाउँमाथिको अठपाली भन्ने स्थानमा खर काट्न गएका बेला भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । भीरबाट खसेर चट्टानमा बजारिँदा उनी गम्भीर घाइते भएका थिए ।

घटनास्थलमै उनको मृत्यु भएको आफन्त रामचन्द्र जोशीले जानकारी दिए ।

जोशी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । यसअघि २०७४ सालको निर्वाचनमा पनि उनी नेकपा एमालेबाट सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  ०८ : २१  बजे