काठमाडौं, ७ कात्तिक । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७.० म्याग्निच्युडको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
भूकम्पमा परी १६ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् । भूकम्पले सम्पत्ति र पूर्वाधारमा समेत व्यापक क्षति पुर्याएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारप्रति सहानुभूति प्रकट गरेको छ । मन्त्रालयले चीन सरकार र जनताप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विज्ञप्तिमा नेपालले यस कठिन समयमा चीनसँग ऐक्यबद्धता व्यक्त गरेको उल्लेख छ । साथै भूकम्पबाट प्रभावित परिवार र समुदायका लागि शीघ्र उद्धार तथा प्रतिकार्य, प्रारम्भिक पुनःस्थापना र पुनर्वासको कामना गरिएको छ ।












प्रतिक्रिया