मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं, ७ कात्तिक । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक छन् । त्यस्तै, लापसे गरी कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उहाँले जानकारी दिनुभयो ।

मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले मापसे तथा लापसे गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  ०८ : २९  बजे