रुस र युक्रेनबीच युद्धविराम र अर्को महिना शान्ति वार्ता गर्ने सहमति

काठमाडौं, ७ कात्तिक । रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना शान्ति वार्ताको नयाँ चरण सुरु गर्न सहमत भएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा सहमति जुटेको ह्वाइट हाउसले जनाएको छ ।

युद्धअघि करिब २४ हजार जनसङ्ख्या रहेको ओलेस्कीमा अहिले १ हजार ७ सयदेखि २ हजार जनामात्र बाँकी रहेको ह्वाइट हाउसको भनाइ छ ।

दुवै पक्षका अनुसार युद्धविराम अक्टोबर २७ देखि लागू हुनेछ । यसले मानवीय सहायता सामग्री पुर्‍याउन र मानवीय करिडोरमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

अमेरिकी अधिकारीका अनुसार आगामी केही हप्ताभित्र आबु धाबी वा स्विट्जरल्यान्डमा तीन पक्षीय वार्ता हुन सक्नेछ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि वार्ताकारहरू अर्को महिना शान्ति वार्ताको नयाँ चरणका लागि भेट्ने पुष्टि गरेका छन् ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  ०७ : ३९  बजे