काठमाडौं, ७ कात्तिक । पीएचपी प्रोग्रामिङ भाषामा देखिएका गम्भीर सुरक्षा कमजोरीका कारण बिहीबारदेखि बन्द भएका सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएका छैनन्।
विश्वभर वेबसाइट तथा वेब एप्लिकेसन बनाउन प्रयोग हुने पीएचपीमा दुईवटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका सरकारी निकायका वेबसाइटमा पनि त्यसको असर परेको हो। जोखिम पहिचान भएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले अत्यावश्यक सुरक्षा एड्भाइजरी जारी गर्दै प्रणाली तत्काल अपग्रेड गर्न र जोखिम व्यवस्थापन नभएसम्म सावधानी अपनाउन आग्रह गरेको थियो।
एड्भाइजरी जारी भएलगत्तै बिहीबारदेखि धेरैजसो सरकारी तथा सार्वजनिक निकायका वेबसाइट अस्थायी रूपमा बन्द गरिएका हुन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले समस्या समाधानका लागि प्रयास भइरहेको जनाएको छ।
सार्वजनिक बिदाका कारण तत्काल ठूलो असर नदेखिए पनि समस्या लम्बिएमा लाइसेन्स, राहदानी, राजस्व संकलन र नागरिक सेवासम्बन्धी अनलाइन सेवा प्रभावित हुन सक्ने जोखिम छ। अहिले धेरै सरकारी तथा गैरसरकारी संस्थाका वेबसाइट खुलिरहेका छैनन्।
नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्र्याकिङ सिस्टम (भीटीएस) लगायत प्रमुख सरकारी तथा वित्तीय निकायका वेबसाइट बन्द छन्। सुरक्षा प्रणाली सुदृढ बनाउन र सम्भावित जोखिमबाट जोगिन वेबसाइट अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ।
नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक, वालेट कम्पनी र रेमिट्यान्स कम्पनीलाई सतर्क रहन निर्देशन दिएको छ।
बैंकका वेबसाइट बन्द भए पनि क्यूआर भुक्तानी र मोबाइल बैंकिङलगायत सेवा सञ्चालनमा छन्। जोखिमको अवस्था मूल्याङ्कनपछि केही बैंकले वेबसाइट पुनः सञ्चालनमा ल्याइसकेका छन्। तर वेबसाइट बन्द हुँदा ग्राहकलाई ब्याजदर, सेवा शुल्क, शाखा तथा एटीएमको विवरण, कर्जा योजना र वित्तीय विवरणजस्ता सार्वजनिक सूचना प्राप्त गर्न कठिन भएको छ।
साइबर सुरक्षा विज्ञहरूले संक्रमणकालीन अवस्थामा आउन सक्ने शंकास्पद सन्देश र लिंकबाट सतर्क रहन सुझाव दिएका छन्।
पीएचपी वेबसाइट तथा वेब एप्लिकेसन निर्माणमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसमा देखिएका सुरक्षा कमजोरी समाधान गर्न प्रणाली अपग्रेड गर्नुपर्ने भएकाले सरकारी तथा सार्वजनिक निकायका वेबसाइट अस्थायी रूपमा बन्द गरिएको हो।












प्रतिक्रिया