काठमाडौं, २१ असोज । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र उहाँसँग निकट मानिएका केही व्यक्तिको निवासमा छापा मारेको छ ।
विभागको टोलीले बुधबार दिउँसो पूर्वप्रधानन्यायाधीश जबरासहित नवराज थपलिया, दीपक तिमिल्सेना र नवीनराज बस्नेतलगायतका व्यक्तिको निवासमा एकैसाथ छापा मारेको हो ।
विभागका अनुसार उनीहरूको जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ ।
यसअघि प्रहरीले असोज १० गते राति पूर्वप्रधानन्यायाधीश जबरालाई उहाँकै निवासबाट पक्राउ गरेको थियो । सुरक्षा चुनौतीलाई कारण देखाएर पक्राउ गरिए पनि पछिल्लो घटनाक्रमले अनुसन्धानको दायरा थप फराकिलो भएको देखिएको छ ।
यसअघि नै प्रहरीले जबराका निकट मानिने इनाम सापकोटालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका एआईजी वंशीरााज दाहालसँग सम्पर्क देखिएपछि दाहालसमेत निलम्बनमा पर्नुभएको थियो ।











प्रतिक्रिया