फूलपातीदेखि टीकासम्म अधिकांश ठाउँमा मौसम सफा रहने अनुमान

काठमाडौं, ३० असोज । यस वर्ष दसैंको फूलपातीदेखि टीकाको दिनसम्म देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस अवधिमा केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपात हुन सक्नेछ।

फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्ने सम्भावना छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुन सक्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान छ।

यस दिन हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

अष्टमीका दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान छ।

दसैंको अघिल्लो दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। यी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ भने अन्य भूभागमा मौसम मुख्यतः सफा रहने सम्भावना छ।

टीकाको दिन पनि ती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने भए पनि देशका बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने महाशाखाको अनुमान छ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार  २१ : ०९  बजे