नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी, खड्गीलाई ३७५ मत

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी हुनुभएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित हुनुभएको हो।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ। कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ।

थापाले कुल खसेको मतको ९३.८८ प्रतिशत प्राप्त गर्नुभएको छ भने खड्गीले ५.३५ प्रतिशत मत पाउनुभएको छ। थापा खड्गीभन्दा ६ हजार २०९ मतले अघि रहनुभएको छ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित हुनुभएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय हुनुहुन्थ्यो।

थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको थियो। त्यसपछि भएको १५औँ महाधिवेशनको निर्वाचनबाट उहाँ सभापतिमा विजयी हुनुभएको हो।

प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार  ०८ : २३  बजे