आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं, ३० असोज । आज शुक्रबार देशका केही पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। अन्य पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुन सक्नेछ।

तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। राति तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्न सक्ने अनुमान छ।

मनसुन बाहिरिसके पनि स्थानीय र पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार  ०७ : १४  बजे