वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित, दिउँसो ४ बजेबाट सुरु हुने

काठमाडौं, २१ असोज । काठमाडौंको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार बिहान साढे १० बजे सुरु हुने भनिएको बन्दसत्र वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो ४ बजेबाट सुरु हुने भएको छ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका अनुसार बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ।

यी प्रस्ताव तथा प्रतिवेदन पारित भएपछि सभापति थापाले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्नुहुनेछ। त्यसपछि बन्दसत्रको औपचारिक कार्यसूची सम्पन्न हुनेछ।

कांग्रेसले बन्दसत्रको सम्पूर्ण कारबाही पार्टीको आधिकारिक फेसबुक पेजसहित विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

बन्दसत्र सम्पन्न भएसँगै महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। निर्वाचन कार्यतालिकाअनुसार भोलि बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।

१५औँ महाधिवेशनबाट २४ पदाधिकारीसहित नयाँ कार्यसमिति चयन हुँदैछ। १९ वटा निर्वाचित पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ।

सभापति पदका लागि वर्तमान सभापति गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार  १४ : २७  बजे