साउदीका लागि प्रस्तावित राजदूतमाथि रास्वपा सांसद खगेन्द्र सुनारलाई जोडेर लाग्यो गम्भीर आरोप

काठमाडौं, २० असोज । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि गम्भीर आरोप लगाउँदै संसदीय सुनुवाई समितिमा उजुरी परेको छ ।प्रस्तावित राजदूतविरुद्ध परेको उजुरीमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारलाई समेत जोडिएको छ । एक व्यक्तिले दिएको उजुरीमा खगेन्द्र सुनारले दलित आन्दोलनका नाममा देश विदेशबाट रकम उठाई हिनामिना गरेको तथा विभिन्न व्यक्तिबाट संकलन गरेको रकम प्रस्तावित राजदूत गिरीबहादुर सुनारले नै व्यवस्थापन गर्दै आइरहेको आरोप लगाइएको छ ।

“दलित आन्दोलनमा जम्मा भएको रकम हिनामिना गरी खगेन्द्र सुनारले २०७८ चैत महिनातिर ८ लाख रुपैयाँ, पुस महिनातिर ७ लाख रुपैयाँ आफ्नो कामना सेवा बैंकको खातामा जम्मा गरेको कुरा मलाई अहिलेसम्म पनि थाहा रहेको छ । यि बाहेक निजले कम्तिमा पनि १० करोडभन्दा बढी रकम हिनामिना गरेका छन,” उजुरीमा उल्लेख छ ।

यही असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ देशको राजदूतको लागि विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो । साउदीका लागि गिरीबहादुर सुनारको नाम प्रस्ताव गरेको थियो । राजदूत नियुक्ति प्रक्रिया अन्तर्गत संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी माग गरेको थियो । सोही क्रममा सुनार विरुद्ध उजुरी परेको हो ।“दलित आन्दोलनका नाममा देश बिदेशबाट उठाई हिनामिना गरेको तथा बिभिन्न व्यक्तिहरुबाट असुली गरी खगेन्द्र सुनारले आफ्नो कामना सेवा विकास बैंक, सिटिजन्स बैंक, महालक्ष्मी बैंक, एनआईएमबी बैंक, एन आईसी एसिया बैंक, राष्ट्रिय बाणिज्य बैंक लगायतका खाताहरु साथै श्रीमती सरिता गुरुङको एनआईसी एसिया बैंक, राष्ट्रिय बाणिज्य बैंक र भाई सुनिल सुनारको एनआईसी एसिया बैंक तथा आफ्ना परिवारका अन्य सदस्यहरूको खातामा जम्मा गर्दै आएका थिए तर पछिल्लो समय आफ्नो र परिवारको खातामा रकम जम्मा गर्नु उचित नदेखेपछि प्रस्तावित राजदुत गिरी बहादुर सुनारमार्फत नै त्यसको व्यवस्थापन गर्दै आइरहेका छन्,” उजुरीमा भनिएको छ ।राजनीतिक कोटामा साउदी अरेबियाका लागि सिफारिस गिरीबहादुर सुनार हाम्रो पार्टी नेपालको केन्द्रीय सदस्य भएको उजुरीमा दाबी गरिएको छ । 

उजुरीमा सांसद खगेन्द्र सुनार र गिरीबहादुर सुनारबीचको सम्बन्ध उल्लेख गर्दै सांसद सुनारले विवाहको नाटक गरी वर्षौंसम्म एक महिलालाई जबर्जस्ती करणी गर्दै आएको आरोप समेत लगाइएको छ । प्रस्तावित राजदुत गिरी बहादुर सुनारमाथि खगेन्द्र सुनारविरुद्ध काभ्रे जिल्ला अदालतमा विचाराधीन विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पेस गरिएको अडियो प्रमाण गायब गराएको आरोप लगाइएको छ । 

“अदालतको अवहेलना तथा समाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका र ५० हजार धरौटीमा रिहा भएका सुनारविरुद्ध अधिवक्ता मनिषा गौतमले काभ्रे जिल्ला अदालतमा झन्डै तीन घण्टाको अडियो प्रमाण पेश गर्नुभएको थियो । मुद्दामा लिपिबद्ध गर्न ८ जीबीको पेनड्राइभमा ३ घण्टाको अडियो पेश भएकोमा त्यो एकाएक गायब पारी अहिले तीन मिनेटको अडियो मात्र राखिएको छ । यस कामको लागि सम्पूर्ण चाँजोपाजो उनै गिरी बहादुर सुनारले मिलाउनुभएको हो ,” उजुरीमा भनिएको छ ।

सांसद सुनारसहितको समूहले गिरीबहादुर सुनारलाई राजदूत सिफारिस गर्नका लागि मन्त्रालय दबाब दिएको दाबी पनि गरिएको छ ।

त्यसैले गिरीबहादुर सुनारसहित सांसद सुनारलाई पनि गम्भीर अनुसन्धान गर्नुपर्ने उजुरीमा उल्लेख गरिएको छ ।
“राजदूत पदमा प्रस्तावित गिरीबहादुर सुनारको सम्बन्धमा सार्वजनिक रूपमा उठेका विभिन्न प्रश्न आरोप तथा विवादहरू गम्भीर प्रकृतिका भएकाले निजको नियुक्ति अनुमोदन गर्नुअघि सम्बन्धित विषयमा विस्तृत र निष्पक्ष छानबिन हुन आवश्यक देखिन्छ,” उजुरीमा माग गरिएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  २१ : ४९  बजे