सर्वोच्चमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

काठमाडौं, २० असोज । सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीश पदमा न्याय परिषद्ले सिफारिस गरेको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशमध्येबाट चार जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो।

परिषद् स्रोतका अनुसार यसपटक कानुन व्यवसायीबाट सर्वोच्च अदालतको न्यायाधीशमा कोही पनि सिफारिस भएका छैनन्।

परिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। मुख्य न्यायाधीशबाट सिफारिस हुने उहाँ एक्लो न्यायाधीश हुनुहुन्छ।

यस्तै, परिषद्ले चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ। परिषद्ले उनीहरूलाई उच्च अदालतका अन्य वरिष्ठ न्यायाधीशलाई पछि पार्दै सिफारिस गरेको स्रोतले जनाएको छ।

गत वर्ष परिषद्ले प्रकाशित गरेको बुलेटिनअनुसार उच्च अदालतका न्यायाधीशमध्ये सारु पाँचौँ, पाण्डे १३औँ र डाँगी १६औँ वरीयतामा हुनुहुन्छ।

यसअघि पनि न्याय परिषद्ले वरीयता मिचेर न्यायाधीश सिफारिस गरेको विषयमा प्रश्न उठ्दै आएको थियो। परिषद्को पछिल्लो निर्णयले पनि वरीयता र न्यायाधीश नियुक्तिको प्रक्रियाबारे बहसलाई निरन्तरता दिएको छ।

न्याय परिषद्ले सिफारिस गरेका चारै जनाको संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रधानन्यायाधीशबाट उहाँहरूको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति हुनेछ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  २१ : ३४  बजे