कांग्रेस महाधिवेशन : पुष्पाले उपसभापति, सुनिल, नैनसिंह र शंकरले महामन्त्रीमा दिए उम्मेदवारी

काठमाडौं, २० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। मंगलबार काठमाडौंको सभागृहमा विभिन्न पदका लागि नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्।

उपसभापति पदमा पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्। यस्तै महामन्त्री पदमा डा. सुनिल शर्मा, नैनसिंह महर र शंकर तिवारीले उम्मेदवारी दर्ता गराएका छन्।

महिला महामन्त्री पदमा डिला संग्रौलाले पनि मनोनयन दर्ता गराएकी छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार मनोनयन दर्ताका लागि मंगलबार बेलुका ६ बजेसम्मको समय तोकिएको छ। निर्धारित समयभित्र सभापति, उपसभापति, महामन्त्रीसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता हुनेछ।

१५औँ महाधिवेशनबाट कांग्रेसले नयाँ केन्द्रीय नेतृत्व चयन गर्दैछ। उम्मेदवारी दर्ता सकिएपछि निर्वाचन समितिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्नेछ। त्यसपछि उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  १५ : २२  बजे