काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी डा. सुनील कुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
कांग्रेसलाई पुनः जनताको घरदैलोमा पुर्याउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभएको छ। कांग्रेसको शक्ति काठमाडौंमा हुने बैठक र पार्टी कार्यालयमा मात्र नभई गाउँका नागरिक, किसान, मजदुर, शिक्षक, विद्यार्थी, व्यवसायी, युवा तथा प्रत्येक मतदातासँगको सम्बन्धमा रहेको उहाँको भनाइ छ।
महामन्त्रीका रूपमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने, उनीहरूका समस्या सुन्ने र जनताका मुद्दालाई कांग्रेसको राजनीतिक एजेन्डा बनाउने संगठन निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभएको छ।
“कांग्रेसको शक्ति काठमाडौंका बैठक र पार्टी कार्यालयमा होइन, गाउँका नागरिक, किसान, मजदुर, शिक्षक, विद्यार्थी, व्यवसायी, युवा र प्रत्येक मतदातासँगको सम्बन्धमा छ,” उहाँले भन्नुभएको छ।
महामन्त्रीमा निर्वाचित भए जनतासँग प्रत्यक्ष संवाद बढाउँदै पार्टीको संगठनलाई जनताका दैनिक समस्या र सरोकारसँग जोड्ने उहाँले बताउनुभएको छ।
शर्मा काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजका सञ्चालकसमेत हुनुहुन्छ।











प्रतिक्रिया