बुढानीलकण्ठका विकास आयोजनाको प्रगति समीक्षा, सडक मर्मत र सीसीटीभी जडानलाई प्राथमिकता

काठमाडौं, १९ असोज । बुढानीलकण्ठ नगरपालिकामा सञ्चालित विकास आयोजना तथा योजनाको प्रगति, कार्यान्वयन अवस्था र देखिएका समस्याबारे विस्तृत समीक्षा गरिएको छ।

नगरप्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख अनिता लामासहित वडाध्यक्ष, इन्जिनियर तथा सम्बन्धित पदाधिकारी र कर्मचारीहरूको सहभागिता थियो।

बैठकमा नगरभित्र सञ्चालनमा रहेका विभिन्न विकास आयोजनाको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा समाधानका उपायबारे छलफल गरिएको थियो। असोज महिनाका लागि निर्धारित लक्ष्यअनुसार वडास्तरीय विकास आयोजनाको कामलाई थप तीव्रता दिने निर्णय बैठकले गरेको छ।

त्यस्तै, आयोजनाका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै सडकको प्याचिङ तथा मर्मतसम्भारको कामलाई समेत गति दिने निर्णय भएको छ।

बैठकमा दसैँअघि नगरका आवश्यक तथा बढी भीडभाड हुने स्थानमा प्राथमिकताका आधारमा सडक बत्ती र सीसीटीभी जडान गर्ने विषयमा समेत छलफल भएको नगरपालिकाले जनाएको छ।

दसैँलगायत चाडपर्वको समयमा नगरवासीको आवागमन सहज बनाउन सडक मर्मत, प्रकाश व्यवस्थापन तथा सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  २० : ०३  बजे