चीनबाट फर्केको केही दिनपछि प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौं, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गर्नुभएको छ । बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा सात दिने औपचारिक भ्रमणका लागि सिग्देल सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गर्नुभएको थियो । भ्रमणले सदियौंदेखि रहँदै आएको दुई देशबिचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास जंगी अड्डाले लिएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुनेछ । केही दिनअघि मात्रै सिग्लेल चीनको भ्रमण पूरा गरी नेपाल फर्कनुभएको थियो ।

कार्यकालको अन्तिम अन्तिमतिर रहेका सिग्देलले ठूला मुलुकको भ्रमण पूरा गरिसक्नुभएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  १४ : २४  बजे