बालेनलाई सचिन तिमल्सिनाको काउन्टर–‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ’

काठमाडौं, १८ असोज । खुलामञ्चको प्रसङ्ग जोड्दै नेपाली कांग्रेसमाथि व्यंग्य गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई कांग्रेस नेता सचिन तिमल्सिनाले जवाफ फर्काउनुभएको छ ।

प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत कांग्रेसको १५औँ महाधिवेशनमा नेताहरूले दिएको भाषणलाई लक्षित गर्दै खुलामञ्च राम्रो बनाएकै कारण दलहरूले त्यहीँबाट गाली गर्न पाएको टिप्पणी गर्नुभएको थियो ।

त्यसको जवाफमा नेता तिमल्सिनाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहमाथि व्यंग्य गर्नुभएको हो ।

तिमल्सिनाले लेख्नुभएको छ, ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ। प्रधानमन्त्री नै भए पनि ९ बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्।’

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सभापति गगन थापालगायत नेताहरूले प्रधानमन्त्री शाहको कार्यशैलीको आलोचना गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री शाहले खुलामञ्चको प्रसङ्ग जोड्दै कांग्रेसमाथि टिप्पणी गर्नुभएको थियो ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  २२ : ३४  बजे