वामपन्थी एकतामा हतार नगर्न माधव नेपालको आग्रह

काठमाडौं, १८ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल ले वामपन्थी एकता र पार्टी एकतामा पर्याप्त छलफल तथा तयारीबिना हतार गर्न नहुने बताउनुभएको छ।

सोमबार काठमाडौंमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा उहाँले २०७५ सालको नेकपा एकीकरणबाट प्राप्त अनुभवलाई स्मरण गर्दै पर्याप्त बहस र साझा समझदारीबिनाको एकताले फेरि त्यही अवस्था दोहोरिन सक्ने भएकाले सचेत रहनुपर्ने बताउनुभयो।

उहाँले पार्टीको विचार र सिद्धान्त मिलेकै आधारमा मात्र दिगो एकता सम्भव नहुने उल्लेख गर्दै व्यक्तिको सोच, इच्छा र प्रतिबद्धताले पनि महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

माधव नेपालले व्यक्तिगत स्वार्थभन्दा सिद्धान्तनिष्ठ राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कम्युनिष्ट आन्दोलन जनवादी केन्द्रीयता को सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो।

उहाँले पार्टीका नेता–कार्यकर्तालाई पदको आकांक्षाभन्दा संगठनप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्न आग्रह गर्दै कम्युनिष्ट दलहरूले नेतृत्व गरेका सरकारहरूको पनि निष्पक्ष समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा उहाँले पार्टी र मुलुक दुवै चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै सबै राजनीतिक शक्तिहरू एकताबद्ध भएर राष्ट्रिय चुनौतीहरूको सामना गर्नुपर्नेमा जोड दिनुभयो।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  २१ : ०२  बजे