काठमाडौं, १८ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार युक्रेनी सेनाले रुसका सैन्य तथा ऊर्जा पूर्वाधारहरूमा लामो दूरीबाट सटिक हमला गरेको दाबी गरेका छन्।
उनले यी हमलाहरूमा सारातोभ आयल रिफाइनरी र एंगेल्स सैन्य एयरबेसलाई निशाना बनाइएको बताए। जेलेन्स्कीले यी अभियानहरूको उद्देश्य रुसको युद्ध क्षमता कमजोर पार्नु रहेको बताए।
यसैबीच, रुसले युक्रेनको आक्रमणमा आठजनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ। जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै युक्रेनी सेनाले रुसभित्र गहिराइमा रहेका धेरै महत्वपूर्ण रणनीतिक अखडाहरूमा हमला गरेको जानकारी दिए। उनका अनुसार अघिल्लो रात अग्रिम मोर्चाबाट ६०० किलोमिटरभन्दा बढी टाढा रहेको सारातोभ क्षेत्रमा रहेका दुई रणनीतिक अखडा–सारातोभ आयल रिफाइनरी र एंगेल्स सैन्य एयरबेसमा सफलतापूर्वक प्रहार गरिएको थियो।
जेलेन्स्कीले कालुगा क्षेत्रमा रहेको ल्युदिनोभस्काया आयल डिपोको इन्धन भण्डारण परिसरमा पनि हमला गरिएको जानकारी दिए। यसका साथै ब्रयान्स्क क्षेत्रमा आक्रमणकारी ड्रोनहरू भण्डारण, तयारी तथा प्रक्षेपण गरिने भनिएको स्थानमा पनि सटिक प्रहार गरिएको उनले उल्लेख गरेका छन्।
युक्रेनी राष्ट्रपतिले रक्षा बलहरूको प्रशंसा गर्दै देशले निरन्तर लामो दूरीसम्म आक्रमण गर्ने क्षमता विस्तार गरिरहेको बताए। उनले युक्रेनले अब युद्धलाई जहाँबाट यसको सुरुआत भएको थियो त्यहीँ फर्काइरहेको बताए।







प्रतिक्रिया