धार्मिक संवादमा नयाँ खुलासा : रविसँग वार्ता र गृहमन्त्रीलाई मागपत्र दिने व्यक्तिमा रास्वपाकै नेता!

काठमाडौं, १७ साउन । सुनसरी घटनापछि धार्मिक सद्भाव कायम गर्न आयोजित संवाद र जनकपुरमा गृहमन्त्रीलाई बुझाइएको मागपत्रसँग सम्बन्धित केही व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध रहेको दाबी सार्वजनिक भएको छ।

प्रकाशित विवरणअनुसार, रास्वपाका पूर्व केन्द्रीय सदस्य उम्मेदवार तथा पार्टीको स्टार्टअप विभागमा सक्रिय रहनुभएका राजुराज फुँयाल हिन्दू धर्मगुरुको प्रतिनिधिका रूपमा सभापति रवि लामिछानेसँग भएको संवादमा सहभागी हुनुभएको थियो। उहाँले आफू विश्व हिन्दू महासंघको सचिवालय सदस्यको हैसियतमा वार्तामा सहभागी भएको र रास्वपाको साधारण सदस्य पनि रहेको बताउनुभएको छ।

त्यसैगरी, जनकपुरमा गृहमन्त्री सुधन गुरुङलाई संयुक्त हिन्दू मोर्चाको तर्फबाट मागपत्र बुझाउने व्यक्तिमध्ये शनी भगत रास्वपाका जनकपुर उपमहानगरपालिका–८ का वडा सभापति रहेको दाबी पनि सार्वजनिक भएको छ। मागपत्रमा उहाँले हिन्दु सम्राट सेनाको प्रतिनिधिका रूपमा हस्ताक्षर गर्नुभएको उल्लेख गरिएको छ।

यद्यपि, हिन्दु सम्राट सेनाका एक सदस्यले शनी भगत उक्त संगठनको सक्रिय सदस्य नरहेको र वार्ताका लागि संगठनले प्रतिनिधिका रूपमा नपठाएको दाबी गरेका छन्।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने तथा सम्बन्धित अन्य पक्षको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  १४ : ४०  बजे