आज र भोलि मुसलधारे वर्षाको चेतावनी, काठमाडौंसहित ३७ जिल्लामा बाढीको जोखिम

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै आज र भोलि मुसलधारे वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित ३७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ।

महाशाखाले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, लमजुङ, कास्की, तनहुँ, चितवन, पाल्पा, बागलुङ, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुरलगायत जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने जनाएको छ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने रातिदेखि सोमबारसम्म पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। मौसमविद्ले अत्यावश्यकबाहेक पहाडी राजमार्गमा यात्रा नगर्न सुझाव दिएका छन्। विशेषगरी बीपी राजमार्गको धुलिखेल–रोशी–मुलकोट खण्ड तथा पृथ्वी राजमार्गको नौबिसे–मलेखु–मुग्लिन–जुगेडी खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  १४ : १४  बजे