दुर्गम क्षेत्रलाई सडक सञ्जालमा जोड्दै नेपाली सेना

काठमाडौं, १७ साउन । नेपाली सेनाले दुर्गम तथा रणनीतिक महत्वका क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने अभियानअन्तर्गत हालसम्म ३२ वटा सडक आयोजना सम्पन्न गर्दै १ हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको जनाएको छ।

सेनाले कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलगायतका राष्ट्रिय प्राथमिकताका सडक आयोजना सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको छ।

सरकारले कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण गर्न चुनौतीपूर्ण सडकखण्डको जिम्मेवारी नेपाली सेनालाई दिँदै आएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सीमित स्रोतसाधन, प्रतिकूल मौसम र जटिल भूगोलका बाबजुद सेनाले वार्षिक लक्ष्य शतप्रतिशत पूरा गर्दै राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गरिरहेको छ।

पूर्वी नेपालको रणनीतिक महत्वको खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ–घोङ्घप्पा खण्डमा १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिएको छ। यसले स्थानीय विकास र सीमापार व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाल नेपाली सेनाले कर्णाली करिडोर, दार्चुला–टिङ्कर र बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजना निर्माण गरिरहेको छ। दार्चुला–टिङ्कर सडकमा आर्थिक वर्ष २०८२/८३ मा १९.८० किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने आयोजनाको समग्र भौतिक प्रगति २५.०६ प्रतिशत पुगेको छ।

बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने १८ किलोमिटर सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। हालसम्म यस आयोजनाको भौतिक प्रगति ४४.३५ प्रतिशत पुगेको सेनाले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरमा हालसम्म ८६.१७ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। सेनाले हिल्सा–सिमकोट सडकखण्डको चुवाखोलामा बेलिब्रिज जडान गरेसँगै हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने अभियानले थप गति लिएको छ।

नेपाली सेनाका अनुसार दुर्गम तथा सामरिक महत्वका सडक निर्माणले राष्ट्रिय सडक सञ्जाल विस्तार गर्नुका साथै व्यापार, पर्यटन, विपद् व्यवस्थापन, स्थानीय आर्थिक गतिविधि तथा राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार  ०७ : २७  बजे