महोत्तरी , १६ साउन । कालापानी वन प्रकरणमा निर्दोष स्थानीयवासीमाथि झुटा मुद्दा दर्ता गरिएको भन्दै चुरेबासी शनिबारदेखि आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका क्रममा बिहान ७ बजेदेखि स्थानीयवासीले बीपी राजमार्ग अवरुद्ध गरेका हुन।
संघर्ष समितिका संयोजक गोपी श्रेष्ठका अनुसार यसअघि सर्वदलीय बैठकले घटनामा आरोपितहरू निर्दोष रहेको निष्कर्ष निकाल्दै तीन दिनभित्र मुद्दा फिर्ता लिन प्रशासनलाई आग्रह गरेको थियो। तर माग सम्बोधन नभएपछि आन्दोलनका कार्यक्रम सुरु गर्नुपरेको उहाँले बताउनुभयो।
आन्दोलनरत स्थानीयवासीले झुटा मुद्दा फिर्ता लिन, डिभिजन वन कार्यालयका प्रमुखमाथि कारबाही गर्न तथा वनका नाममा स्थानीयमाथि हुने ज्यादती रोक्न माग गर्नुभएको छ।
गत जेठ ११ गते वन कर्मचारी बस्ती खाली गराउने सूचना लिएर पुग्दा स्थानीयवासीले विरोध जनाउनुभएको थियो। त्यसक्रममा तनाव उत्पन्न हुँदा सरकारी गाडीमा आगजनी भएको थियो। त्यसपछि भएको वार्तामा बस्ती नउठाउने, थप कारबाही नगर्ने र कसैमाथि मुद्दा नचलाउने सहमति भएको स्थानीयको दाबी छ। अहिले त्यसविपरीत मुद्दा दर्ता गरिएको भन्दै उहाँहरूले प्रशासनले सहमति उल्लंघन गरेको आरोप लगाउनुभएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने अपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ र प्रमाण तथा बयानका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
सरकारले वन तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान सञ्चालन गरेपछि डिभिजन वन कार्यालयले कालापानीलगायत क्षेत्रमा बस्ती खाली गराउने प्रक्रिया अघि बढाएको थियो। स्थानीयवासीले भने पुस्तौँदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन जारी राख्नुभएको छ।







प्रतिक्रिया