भारतको असाममा बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० जना पुग्यो

काठमाडौं, १६ साउन । भारतको असाममा मनसुनी बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० जना पुगेको छ । यो संख्या गएको आइतवारयता बाढीमा परी ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अत्यधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदीमध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असाममा हजारौँ मानिस प्रभावित हुन पुगेका हुन् ।

विशेषगरी बाढीले असाम राज्यका ७ जिल्ला प्रभावित भएका छन् । त्यहाँका झण्डै ३ लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ ।

चराइदेव जिल्ला बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ एक लाख ३७ हजारभन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन् । त्यसपछि शिवसागरमा ८४ हजार र जोर्हाटमा ४९ हजार प्रभावित भएका छन् ।

यसैबीच, भारतको मौसम विज्ञान विभागले आज पनि असाम तथा छिमेकी राज्य अरुणाचल र नागाल्यान्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार  ०९ : ०४  बजे