धनुषामा पाँच घण्टाका लागि कफ्र्यु खुकुलो, अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुर, १६ साउन । धनुषा जिल्ला प्रशासन कार्यालयले जारी कफ्र्यु शनिबार बिहान पाँच घण्टाका लागि आंशिक रूपमा खुकुलो पारेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सर्वसाधारणको दैनिक जीवन सहज बनाउन बिहान ५ः०० बजेदेखि १०ः०० बजेसम्म कफ्र्यु खुकुलो पारिएको हो। यस अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य सामग्री खरिद गर्न सक्नेछन्।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जारी गरेको सूचनामा तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कफ्र्युको पूर्ण पालना गर्न सबैसँग आग्रह गरिएको छ।

कफ्र्युको अवधिमा पनि अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल, शववाहन, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, खानेपानी, दूध र फोहोर व्यवस्थापनसँग सम्बन्धित सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने प्रशासनले जनाएको छ।

त्यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका कर्मचारी, तीर्थयात्री, बिरामी तथा विमानस्थल जाने–आउने यात्रुले परिचयपत्र वा आवश्यक प्रमाणका आधारमा आवतजावत गर्न पाउनेछन्।

धनुषामा गत साउन १४ गतेदेखि कफ्र्यु आदेश लागू गरिएको हो। प्रशासनले बिहान १० बजेदेखि पुनः कफ्र्यु पूर्ण रूपमा लागू हुने भन्दै शान्ति सुरक्षा कायम राख्न सबैसँग सहयोगको अपिल गरेको छ।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार  ०८ : ५४  बजे