तराई–मधेसको परिस्थितिबारे राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग गरे छलफल

काठमाडौँ, १५ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायत तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको छलफलमा तराई–मधेसमा पछिल्लो समय विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरिएको थियो। छलफलमा सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबै पक्षले पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

छलफलका क्रममा पूर्वराष्ट्रपति डा. यादवले विषम परिस्थितिमा सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ र सहयोग लिएर समस्या समाधान गर्न सक्ने गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो।

उहाँले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संवाद तथा सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार  १८ : ०७  बजे