काठमाडौं, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ ।
सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र दुवै परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको छ ।
यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्ने तथा देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा आवश्यक छानबिन थाल्ने सहमति भएको छ ।
मृतकका परिवारबाट एक–एक योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सम्झौतामा समेटिएको छ ।
सम्झौतापत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । पीडित परिवारले सम्झौतामा भएका प्रतिबद्धता समयमै कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।








प्रतिक्रिया