आज साउन १५ : किन खाइन्छ खिर ?

काठमाडौं, १५ साउन । आज साउन १५ अर्थात् नेपाली समाजमा परम्परागत रूपमा खिर खाने दिन । साउनको झरी र खेतीपातीको व्यस्तताबीच तातो खिर खाने मौलिक परम्परा रहिआएको छ ।

साउनमा गाईभैँसीले बढी दूध दिने तथा वर्षायाममा तातो र पौष्टिक खाना उपयोगी मानिने भएकाले खिर खाने चलन बसेको विश्वास गरिन्छ । दूधमा चामल, चिनी, मसला, सावदाना, सेवइलगायत सामग्री मिसाएर खिर बनाइन्छ ।

संस्कृतमा ‘पायस’ भनिने खिर वैदिक परम्परामा समेत महत्त्वपूर्ण मानिन्छ । श्राद्ध तथा पितृकार्यमा समेत खिर बनाउने चलन छ । साउन भगवान् शिवको महिना भएकाले दूधबाट बनेका परिकार शिवलाई चढाउने धार्मिक परम्परासँग पनि खिर खाने चलन जोडिएको पाइन्छ ।

नेपालमा साउन १५ मा खिर खाने परम्परालाई राष्ट्रिय दुग्ध विकास बोर्डले ‘खिर दिवस’का रूपमा समेत मनाउँदै आएको छ । यस वर्ष आठौँ खिर दिवस मनाइँदैछ ।

नेपाली समाजमा असार १५ मा दही–चिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै र पुस १५ मा घिउखट्टेलगायत परिकार खाने मौलिक परम्परा पनि रहिआएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार  ०७ : ४२  बजे