काठमाडौं, १५ साउन । अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । कान्तिलोकपथमा पनि राति ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ ।
इलामको मेची राजमार्ग वर्षाका कारण हिलाम्मे भएपछि अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक, रसुवाको पासाङ ल्हामु सडक र ललितपुरको कान्तिलोकपथमा पहिरो तथा नदी कटानका कारण यातायात रोकिएको प्रहरीले जनाएको छ ।
यस्तै, भीमफेदी–कुलेखानी–काठमाडौं सडक, जाजरकोट–डोल्पा सडक तथा बेनी–जोमसोम सडकखण्ड पनि पहिरो र बाढीका कारण अवरुद्ध भएका छन् ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।







प्रतिक्रिया