काठमाडौं, १४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका विभिन्न भागमा देखिएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई सबै राजनीतिक दल तथा पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री शाहले सुनसरीलगायतका क्षेत्रमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले पछिल्लो अवस्था र विभिन्न क्षेत्रमा भएका घटनाबारे चासो राख्दै शान्ति, सद्भाव र सुव्यवस्था कायम गर्न सरकारको भूमिकाबारे जानकारी लिनुभएको थियो ।
प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेको प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब १५ मिनेट कुराकानी भएको बताइएको छ ।
राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षसँग समन्वय गरी संयमता अपनाउँदै सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री शाहलाई आग्रह गर्नुभएको हो।







प्रतिक्रिया