सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं, १४ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ ।

बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतका ग्राहक पहिचान तथा अनुपालनसम्बन्धी दायित्व पूरा नगरेपछि कारबाही गरिएको हो । कारबाहीअनुसार सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना गरिएको छ भने श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

बोर्डले ऐनको दफा ७फ बमोजिम यी संस्थामाथि आर्थिक दण्ड लगाएको जनाएको छ । यस्तै, मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई भने सचेत गराइएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर वितरणका क्रममा २ हजार ५३३ जना लगानीकर्ताको डिम्याट खातामा आवश्यकभन्दा बढी सेयर जम्मा भएको पाइएपछि बोर्डले पहिलोपटक चेतावनी दिएको हो । बोर्डले यसलाई व्यवसायिक मापदण्ड पालना नगरेको भन्दै भविष्यमा यस्तो त्रुटि नदोहोर्याउन निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १३ : ५७  बजे