काठमाडौं, १४ साउन । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देश संकटतर्फ जाने अवस्थामा समेत सरकार बेखबरजस्तो देखिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
बिहीबार (साउन १४) प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले देशमा हिंसाको अवस्था सिर्जना हुन सक्ने बेला सरकार अँध्यारो कोठामा बसेर परिस्थिति सामान्य रहेको दाबी गर्न नहुने बताउनुभयो ।
“सरकार बेखबर छ । सरकार कहाँ छ ? सायद यो लाइभ हेरिरहनुभएको छ भने हात हल्लाएर सोध्न चाहन्छु,” उहाँले भन्नुभयो, “सरकार, तपाईं अब निस्कनुपर्छ । तपाईं (प्रधानमन्त्री) भित्र अन्धकारमा बसेर दूरबिन लगाएर देश ठीक छ भन्न पाउनुहुन्न ।”
सांसद राईले सरकार बेखबर भए भन्दैमा अरूले पनि गैरजिम्मेवार बन्न नहुने बताउँदै सबैलाई संयमित हुन आग्रह गर्नुभयो । उहाँले सञ्चारमाध्यमले प्रयोग गर्ने कलम र क्यामेरालाई स्थायी सरकारको संज्ञा दिँदै जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउनुभयो ।
उहाँले भ्रामक लेख, भिडियो तथा सूचना प्रसार नगर्नसमेत आग्रह गर्नुभयो । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नभएकोप्रति पनि सांसद राईले आपत्ति जनाउनुभयो।







प्रतिक्रिया