काठमाडौं, १३ साउन । गएको आइतवार दुई समूहबीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भएको छ ।
सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो ।झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर १ जनाको ज्यान गएपछि स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यु तथा निषेध आदेश जारी गरेको थियो ।अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय सद्भाव बैठकहरू भइरहेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार हरिनगर र भोक्राह नरसिंह गाउँपालिकामा आयोजना भएको सर्वपक्षीय बैठकमा शान्ति सुरक्षा कायम राख्ने सहमति भएको छ ।प्रशासनले प्रभावित पालिकाका जनप्रतिनिधि र विवादमा संलग्न दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गरिरहेको छ । घटनापछि हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले बाँके, कपिलवस्तु र मधेशका अन्य जिल्लाहरूसँग पनि निरन्तर समन्वय र सुरक्षा समीक्षा गरिरहेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती पनि गरेको छ ।







प्रतिक्रिया