देवानगन्ज घटनापछि सीमामा ‘हाइ अलर्ट’

विराटनगर, १३ साउन । सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको घटनापछि कोशी प्रदेशका भारतसँग जोडिएका प्रमुख सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा निकायले सम्भावित घुसपैठ, अवैध हातहतियार तथा लागुऔषध ओसारपसार रोक्न विशेष निगरानी बढाएको छ।

अब भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा परिचयपत्र (आईडी कार्ड) देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ। वैध परिचयपत्र भएका व्यक्तिलाई मात्रै नेपाल प्रवेश गर्न दिइने सुरक्षा निकायले जनाएको छ।

कोशी प्रदेश सरकारले सुरक्षा अवस्था समीक्षा गर्न आयोजना गरेको सर्वपक्षीय बैठकमा प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले सीमा क्षेत्रमा अतिरिक्त सुरक्षा जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले धार्मिक संगठनको आवरणमा नेपाल प्रवेश गर्ने सम्भावित समूहबारे सूचना प्राप्त भएकाले सीमा नाकामा निगरानी थप कडा बनाइएको बताउनुभयो।

गत आइतबार देवानगन्जमा दुई पक्षबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने त्यसयता विरोध प्रदर्शन, आगजनी र तोडफोडका घटना भएका छन्। सर्वपक्षीय बैठकले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन तथा अफवाह नफैलाउन आग्रह गरेको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १५ : ४३  बजे