रास्वपाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सिंहदरबारमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा जारी छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतको उपस्थिति रहेको छ।

सुनसरीमा एक जनाको मृत्यु हुने घटनापछि सरकारको व्यापक आलोचना भइरहेको छ भने तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शनसमेत जारी छ। यही घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन रास्वपाले सर्वदलीय बैठक आयोजना गरेको हो।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र द्वेष न्यूनीकरणका लागि राजनीतिक दलहरूबाट संयुक्त सन्देश आवश्यक ठानेर बैठक बोलाइएको बताउनुभयो।

उहाँका अनुसार प्रशासनिक प्रयाससँगै राजनीतिक नेतृत्वले पनि साझा अपिल जारी गर्नु आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको हो।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  ०९ : ३१  बजे