सरकारकै कारण सुनसरीको अवस्था थप तनावग्रस्त : एमाले

काठमाडौं, १२ साउन । नेकपा एमालेले सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको कार्यशैलीकै कारण परिस्थिति थप उत्तेजित बनेको टिप्पणी गरेको छ।

महासचिव शंकर पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिकको जिउधनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैरजिम्मेवार, उदासीन र दिशाहीन बनेको आरोप लगाउनुभएको हो।

उहाँले विवाद समाधानका लागि समयमै संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग, त्रास सिर्जना गर्ने र दमनकारी शैली अपनाइएकाले अवस्था थप जटिल बनेको उल्लेख गर्नुभएको छ।

एमालेले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको अविलम्ब, प्रभावकारी र निःशुल्क उपचार, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

साथै, घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा राज्यलाई दमनकारी रवैया त्यागेर संयमता अपनाउँदै समस्याको शान्तिपूर्ण र दीर्घकालीन समाधानतर्फ अघि बढ्न एमालेले आग्रह गरेको छ।

विज्ञप्तिमार्फत एमालेले देवानगञ्जसहित समग्र सुनसरीका नागरिकलाई कुनै पनि अफवाहमा नलाग्न, धार्मिक, सामाजिक तथा जातीय सद्भाव कायम राख्न र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न अपिल गरेको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  २१ : ३५  बजे