पाल्पामा टिपर दुर्घटना : सहचालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं, १२ साउन । पाल्पाको तानसेन नगरपालिका–१२ गाईघाट नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिपरका सहचालक बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमाल गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा सामान्य घाइते भएका चालक मिनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  १० : ५०  बजे