लमजुङमा पहिरोको कहर : घर पुरिँदा बाबु–छोरीको मृत्यु, आमा र अर्की छोरी घाइते

काठमाडौं, १२ साउन । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले घर पुरिँदा बाबु–छोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार बिहान करिब २:३० बजे चितिखोलाबाट ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले धन्सार घर भत्काउँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार घटनामा ५१ वर्षीय टिकाबहादुर बिक र उहाँकी १५ वर्षीया छोरी बिनिता बिकको ज्यान गएको छ।

पहिरोमा परी ५० वर्षीया सुकमाया बिक र १६ वर्षीया अस्मिता बिक घाइते भएका छन्। उनीहरूको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले उद्धार तथा खोजी कार्य सञ्चालन गरेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  १० : ४९  बजे