काठमाडौं, २ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह ले आज संघीय संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग छलफल गर्नुहुने भएको छ।
प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईं का अनुसार बुधबार दिउँसो १२ बजेपछि सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अन्तरक्रिया कार्यक्रम तय गरिएको छ।
उक्त कार्यक्रममा समानुपातिक सांसदहरूले आ–आफ्ना क्लस्टर, समुदाय तथा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र समाधानका उपायबारे प्रत्यक्ष रूपमा प्रधानमन्त्रीसमक्ष धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रेस सहजकर्ता बजगाईंका अनुसार यस अन्तरक्रियाको मुख्य उद्देश्य जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गर्दै नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउनु रहेको छ।
उहाँले भन्नुभयो, “यो कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।”
यसअघि प्रधानमन्त्रीले प्रदेशगत रूपमा सबै प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिसक्नुभएको छ। तर, प्रत्यक्ष निर्वाचित सांसदसँग मात्र छलफल गरिएको भन्दै समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूले असन्तुष्टि जनाउँदै आएका थिए।
सोही असन्तुष्टिलाई सम्बोधन गर्दै आजको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बुझिएको छ। राजनीतिक वृत्तमा यसलाई सरकार र संसद्बीचको समन्वय सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।







प्रतिक्रिया