नयाँ वर्षमा प्रधानमन्त्री बालेनको शुभकामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपाली नागरिकमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उहाँले प्रसिद्ध संस्कृत श्लोक उद्धृत गर्दै सबैको सुस्वास्थ्य, कल्याण र सुखमय जीवनको कामना गर्नुभएको हो।

प्रधानमन्त्री शाहले लेख्नुभएको छ —

“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत् ॥”

यस श्लोकको भावार्थ स्पष्ट पार्दै उहाँले सबैको जीवनमा सुख, आरोग्य र समृद्धि छाओस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, “सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।”

नयाँ वर्षको पहिलो दिन राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गरिरहेका बेला प्रधानमन्त्री शाहको यो सन्देशलाई सकारात्मक ऊर्जा र कल्याणको कामनासहितको सन्देशका रूपमा हेरिएको छ।

देश तथा विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै व्यक्त गरिएको यस शुभकामनाले नयाँ वर्षमा आशा, उत्साह र समृद्धिको सन्देश प्रवाह गरेको छ।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार  ०७ : ४३  बजे