समाज कल्याण परिषद्को कारबाही : भाडा नतिर्ने २० संघ–संस्थामा ताला, ऋषि धमलाको रिपोर्टर्स क्लबको ७३ लाख बक्यौता

काठमाडौँ, ३० चैत्र । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र लामो समयदेखि भाडा नतिर्ने २० वटा संघ–संस्था तथा व्यावसायिक कबलमा सोमबार ताला लगाएको छ। परिषद्का अनुसार ती संस्थाबाट ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता रकम उठ्न बाँकी रहेको छ।

परिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि बक्यौता नतिर्ने संस्थाहरूमा तालाबन्दी गरेको जनाएको छ। भाडा नतिर्ने सूचीमा अनेरास्ववियु, रिपोर्टर्स क्लब नेपाल लगायतका संस्था रहेका छन्।

विशेषगरी सञ्चारकर्मी ऋषि धमला सँग सम्बन्धित रिपोर्टर्स क्लब नेपाल सबैभन्दा धेरै बक्यौता तिर्न बाँकी रहेको परिषद्ले जनाएको छ। उक्त संस्थाले मात्रै ७३ लाख रुपैयाँभन्दा बढी भाडा रकम नतिरेको उल्लेख गरिएको छ।

परिषद्का अधिकारीहरूका अनुसार लामो समयदेखि पटक–पटक ताकेता गर्दा पनि भाडा नतिरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो। यस कदमलाई बक्यौता असुली अभियानको सुरुवातका रूपमा हेरिएको छ।

भृकुटीमण्डप क्षेत्रमा रहेका अन्य संस्थाहरूको बक्यौता विवरणसमेत सार्वजनिक गर्ने तयारी परिषद्ले गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार  १७ : ५९  बजे