काठमाडौं, २९ चैत । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उहाँसँग उल्लेख्य मात्रामा नगद, पैतृक जग्गाजमिन तथा गरगहना रहेको देखिएको छ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहले १ करोड ४६ लाख रुपैयाँ नगद मौज्दात रहेको खुलाउनुभएको छ। उक्त रकम फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्राप्त आम्दानी भएको उहाँले उल्लेख गर्नुभएको छ।
त्यसैगरी उहाँकी श्रीमती सविना काफ्लेसँग १९० तोला गरगहना रहेको विवरणमा उल्लेख गरिएको छ। उक्त गरगहना पैतृक सम्पत्ति भएको जनाइएको छ। यद्यपि, उक्त गरगहनामा सुन, चाँदी, हिरा वा अन्य बहुमूल्य धातु तथा रत्न के–कति रहेको भन्ने विषय भने स्पष्ट गरिएको छैन।
जग्गाजमिनतर्फ प्रधानमन्त्री शाहले मधेश प्रदेशमा १० बिघाभन्दा बढी पैतृक जग्गा रहेको खुलाउनुभएको छ। विवरणअनुसार धनुषामा १.२ बिघा तथा सप्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख गरिएको छ। यी सम्पत्तिहरू उहाँका बुबा र दाजुको नाममा रहेको जनाइएको छ।
यसैगरी काठमाडौंमा दाजुको नाममा ५ आना जग्गा रहेको पनि विवरणमा समावेश गरिएको छ।
रोचक पक्ष के छ भने प्रधानमन्त्री शाहले आफ्नो सम्पत्ति विवरणमा सामाजिक सञ्जालमा रहेका फलोअर्सको संख्या समेत उल्लेख गर्नुभएको छ। अन्य शीर्षकअन्तर्गत फेसबुक, युट्युब र टिकटकका फलोअर्स संख्या समेत समावेश गरिएको देखिएको छ।
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै प्रधानमन्त्री शाहको सामाजिक सञ्जाल आम्दानी, पैतृक जग्गा र गरगहनाको विवरणले सार्वजनिक चासो तानेको छ।







प्रतिक्रिया