काठमाडौं, २९ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उहाँको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ।
सार्वजनिक विवरणअनुसार मन्त्री पोखरेलको व्यक्तिगत नाममा काठमाडौंमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ तोकिएको छ। त्यस्तै, काठमाडौंकै मूलपानीमा ६ आना जग्गा रहेको र यसको मूल्य ५ करोड रुपैयाँ उल्लेख गरिएको छ। मोरङमा रहेको १ कठ्ठा जग्गा को मूल्य १ करोड रुपैयाँ रहेको जनाइएको छ।
पारिवारिक सम्पत्तितर्फ उहाँका बुवाको नाममा काठमाडौंमा ४ आना २ पैसाको घडेरी रहेको छ, जसको मूल्य करिब साढे २ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ। उहाँकी आमा मिनाक्षी पोखरेलको नाममा गोदावरीमा डेढ करोड रुपैयाँ बराबरको जग्गा तथा गोकर्णेश्वरमा अर्को डेढ करोड रुपैयाँ मूल्य बराबरको जग्गा रहेको जनाइएको छ।
यसैगरी, उहाँको परिवारको नाममा गोदावरीमा ११ रोपनी ४ आना क्षेत्रफलको जग्गा रहेको र यसको मूल्य ५ करोड रुपैयाँ रहेको विवरणमा समावेश गरिएको छ।
मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको उल्लेख गरिएको छ, जसको कुल मूल्य ७५ लाख रुपैयाँ बराबर रहेको जनाइएको छ। साथै २५ हजार रुपैयाँ नगद पनि रहेको उल्लेख छ। उक्त सम्पत्ति आमाको दाइजो, बुवाको जागिर तथा पैतृक स्रोतबाट प्राप्त भएको उहाँले खुलाउनुभएको छ।
बैंक मौज्दाततर्फ सानिमा बैंकमा २ लाख ४८ हजार रुपैयाँ र एनआईसी एसिया बैंकमा २ लाख रुपैयाँ गरी कुल ४ लाख ४८ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ। यसैगरी विभिन्न कम्पनीका सेयरमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ लगानी रहेको पनि जनाइएको छ।
सवारी साधनतर्फ उहाँका बुवाको नाममा ७० लाख रुपैयाँ मूल्यको एक ईभी कार तथा मन्त्री पोखरेलको व्यक्तिगत नाममा करिब ४० लाख रुपैयाँ पर्ने अर्को कार रहेको उल्लेख गरिएको छ। साथै उहाँले ७५ लाख रुपैयाँ ऋण रहेको पनि जनाउनुभएको छ।
यी सम्पूर्ण सम्पत्ति र दायित्व समेटेर मन्त्री पोखरेलले आफ्नो कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको विवरण पेश गर्नुभएको हो।







प्रतिक्रिया